पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय टिमका सदस्य करनलाई नगद २० हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने बताउनुभयाे ।
महासचिव तिमिल्सिनाले भन्नुभयाे–“लामो समय देखि गण्डकी प्रदेशका खेलाडी समेत रहनुभएका करनले राष्ट्रिय टिमको सदस्यको रुपमा नेपालको झण्डालाई उचाईमा पुर्याउन र राष्ट्रिय गौरव बढाउन जुन भूमिका खेल्नुभएकाे छ , त्यो महत्वपूर्ण छ भने खेलाडीको रुपमा करनको भूमिका समेत उत्तिकै सर्हानिय छ ।” मञ्चले उहाँको खेलयात्रालाई अझै मनोबल बढाउन सम्मान गर्न लागेको उहाँको भनाई थियो।
मञ्चले आफ्नै सचिवालय गैह्रापाटनमा विहान ८ बजे सम्मानको कार्यक्रम तय गरेको उहाँले जानकारी दिनुभयाे । मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले अप्रिल ६ पिस एण्ड स्पोर्टस डेको अवसरमा खेलकुद पत्रकारहरु संग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ भने मञ्चले २०८० सालको क्यालेण्डर समेत प्रकाशित गर्ने निर्णय गरेको मञ्चले जनाएको छ ।