राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले पदबाट दिनुभएको राजीनामा स्वीकृति गरिएको बताउनुभएको हो । उपाध्यक्ष अर्यालले बिहीवार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
अध्यक्ष दाहालले भन्नुभयो,‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु ।’
नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहनुभएकी अर्यालले नयाँ सत्ता समिकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिनुभएको हो । राजीनामा पत्रमार्फत उहाँले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरु र संसद सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद समेत दिनुभयो ।
—न्युज एजेन्सी नेपाल