काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ पार्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताउनु भयो ।
उहाँले नयाँ पार्टीहरु बाहेकका पार्टीहरु सबैले सत्ता सञ्चालन गरेको भन्दै उहाँले यो अवस्था आउनमा एकले अर्कोलाई दोषारोपण गर्नु नहुने बताउनु भयो । उहाँले सहकारीका कारण जनताहरु मरिराखेको भन्दै सहकारीको अनुगमन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘को–अपरेटिभ अहिले कसले अनुगमन गरेको छ ? को–अपरेटिभको कारणले गर्दा जनता मरिराखेका छन् । को–अपरेटिभमा संलग्न भएका, आफ्ना हिस्सा दिएकाहरु अहिले आत्महत्या गरिराखेका छन् । अहिले नेपाली जनताको जिउ, धनको सुरक्षा गरौँ । अर्थतन्त्रलाई कसरी हामी समृद्ध गर्नसक्छौँ ? जगेर्ना गर्नसक्छौँ ।
एउटा राजनीतिक पार्टी र सत्तामा भएको पार्टीको मात्र कुरा होइन, सिंगो मुलुक एक ठाउँमा उभिन सक्छ कि सक्दैन यसका लागि । हामीले यसको बारेमा सोचेका छौँ कि छैनौँ ? म सत्ता पक्ष र प्रतिपक्षलाई निवेदन गर्न चाहन्छु, यो अवस्थाले हामी कुनै ठाउँमा पनि पुग्दैनौँ । हामी गम्भिर हुन जरुरी छ । आत्मनिरीक्षण गरौँ । नयाँ पार्टीहरु बाहेक कुन चाहीँ पार्टी सत्तामा छैन ? एउटाले अर्कोलाई दोष दिएर कहाँ पुग्छौँ ?’
उहाँले मिटरव्याज पीडितहरुको समस्यामा सरकार गम्भिर हुनुपर्ने बताउनु भयो ।