सिन्धुली । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-३ चपौलीमा यही चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो।
कला घर निर्माणको अभियानलाई विश्वमाझ पुर्याउने र हातेमालो गर्ने उद्देश्यले पाँच दिनसम्म महोत्सवको आयोजना गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलन मार्फत बताउनुभयाे।
महोत्सवमा विभिन्न १२ जातजातिको कला, संस्कृति, पोसाक, परिकार र झाँकी प्रदर्शन गरिने छ। नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरू प्रदर्शनीमा राखिने छन्। यस्तै महोत्सवमा विभिन्न मौलिक खेलकुद प्रतियोगिता गरिने छ। हस्तकला, चित्रकला, मूर्तिकला लगायतका कलाको प्रदर्शन र व्यापार गरिने छ।
राष्ट्रिय कलाघर सिन्धुलीले कलाघरलाई मौलिक कलाको संरक्षण गर्दै कला सिर्जनाको आविष्कार केन्द्र तथा सांस्कृतिक विश्वविद्यालयका रूपमा विकास गर्ने उद्देश्य लिएको छ।
महोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान लगायतका कलाहरूलाई समेत प्रदर्शन गरिने छ। जिल्लाका विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगायतका प्रतियोगिताहरू गरिने छ। मार्सल आर्टका विभिन्न खेलहरू हुने छन्। स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ। महोत्सवमा १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने विश्वास गरिएको छ।