नेपालको चर्चित रियालिटी सो “ब्लाइन्ड डेट” को पहिलो भागबाट चर्चामा आएकी झापाकी नर्बदा लकान्द्री आफ्नो गायन क्षेत्रमा आफूलाई उत्तिकै अब्बल साबित गरिरहेकी छिन् ।
झापाको पर्यटकीय स्थल मानिने बर्नेमा जन्मिएकी नर्बदा सानैबाट गीत गाउनमा माहिर थिइन् । गाउँकै स्थानीय विद्यालयबाट आफ्नो अध्ययनको सुरुवात गरेकी उनी हाल सितारमेश बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् ।
पहिलो लकडाउनभन्दा केही समय अगाडि आफ्नो कलाको सुगन्ध खोज्दै काठमाडौँ छिरेकी नर्बदालाई काठमाडौँले सुरुका दिनमा सोचेजस्तो सफलता दिएन । उनलाई राजधानीले संर्घषको पाठ पढाउँदै लग्यो । उनले जीवनले जे सिकायो त्यही पढ्दै गइन् ।
रहर गायनमा भए पनि केही समयमा उनले “ब्लाइन्ड डेट” नामको रियालिटी सोमा आफ्नो अभिनयको यात्रा सुरु गरिन् । विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी नर्बदाले केही समय विभिन्न क्लबमा आफ्नो प्रस्तुति समेत दिइसकेकी छिन् ।
एलिना चौहान, प्रदीप बेडवालसँग स्टेज सेयर गर्दै विभिन्न कार्यक्रममा भाग लिएकी नर्बदाले आफ्नो करियर गायन क्षेत्रमा नै बिताउने बताउँछिन् ।