झापा । काठमाण्डौं कपनकी निरा आचार्यको हत्यामा संलग्न एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१० स्थित धुलाबारी निवासी अन्दाजी ३६ वर्षीय विनोद बिक रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिक लाई केन्द्रीय अनुसन्धान ब्युरोको सहकार्यमा प्रहरी कार्यालय झापाको टोलीले शनिबार राती १० बजे बिर्तामोडस्थित इलाम बसस्टेण्ड नजिकैबाट पक्राउ गरेको हो।

आचार्यको हत्या गरी बिक बिर्तामोडको एक होटेलमा लुकेर बसेका , होटेलबाट राती मदिरा पिउन बाहिर निस्किएको बेला विकलाई पक्राउ गरिएको बताइएको छ।
कपनस्थित सरस्वती नगरमा भाँडा पसल चलाउँदै आएकी आचार्यको वैशाख ७ गते हत्या भएको थियो। दिउँसो पसलमै भएका बेला आचार्यलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।
पक्राउ परेका बिक कामको खोजीमा झापाबाट काठमाडौं गएकाे र विक काठमाडौंको एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको बताइएको छ। कपन क्षेत्रमा कोठा भाडा खोज्दै पुगेका विकले आचार्यलाई सुनको गरगहना लगाएर पसल चलाउँदै गरेको देखेका थिए। 'पैसाको लोभमा विकले सुनको गरगहना लुट्ने योजना बनाए,’ एक प्रहरी अधिकृतले भन्नुभयाे, 'सुन गरगहना लुट्ने योजनामै विकले आचार्यको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
घटनाको थप विवरण चाँडै प्रहरीले सार्वजनिक गर्ने उहाँले बताउनुभयाे। यता पक्राउ परेका विकलाई झापाबाट विराटनगर हुँदै काठमाडौं लगिंदैछ।
source:-annapurnapost