देशका ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको छ । गत ६ असारमा वीरगञ्ज महानगरपालिका ले बजेट ल्याएको थियो भने अन्य ५ वटा महानगरले आइतबार बजेट ल्याएका हुन् ।
६ वटै महानगरपालिकाले ल्याएको कुल बजेट ५१ अर्ब ९९ करोड रुपैयाँको छ । महानगरपालिकाहरुले ल्याएको बजेटमा शहरी पूर्वाधारलाई प्राथमिकता दिएको देखिन्छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा शहरी सौन्दर्यको पूर्वाधारलाई प्राथमिकता दिएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ठूलो रकम शहरी सौन्दर्यका पूर्वाधारमा छुट्याइएको हो ।
महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३.७२ प्रतिशत र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६.२८ प्रतिशत बजेट ल्याएको हो ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरको १३ औं नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षभन्दा करिब डेड अर्ब रुपैयाँ कम बजेट हो । चालु आर्थिक वर्षमा पोखरा महानगरले ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
उपप्रमुख गुरुङले बजेट प्रस्तुत गर्दै संघीय अनुदानबाट २ अर्ब ७६ करोड, प्रदेश सरकारबाट अनुदान १० करोड २३ लाख, आन्तरिक आयबाट २ अर्ब २७ करोड व्यहोर्ने जानकारी दिइन् । महानगरले सबैभन्दा बढी पूर्वाधारतर्फ २ अर्ब, प्रशासनिक खर्चतर्फ ८१ करोड २२ लाख, सामाजिक विकासतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, वडा कार्यालयतर्फ ७२ करोड, पर्यटन तथा सहरी विकास तथा वातावरणतर्फ ७० करोड बजेट विनियोजन गरेको छ ।
ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।
source:-onlinekhabar