राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगर राजनीतिक दलहरुमा इमान्दारिताको कमी भएको बताउनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा नै इमान्दारिताको खडेरी लागेको बताउनु भयो । उहाँले पर्याप्त श्रोत साधन नहुनु र बजेट निर्माण गर्नै कठिन हुने गरेको भन्दै उहाँले बजेट निकासी गर्दा आफूलाई राम्रो हुने ठाउँमा मात्रै निकासी गर्ने गरेको बताउनु भयो । उहाँले बजेट विनियोजनमा इमान्दारिता देखाउन नसक्दा पुँजीगत खर्च नभएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो देशमा इमान्दारिताको खडेरी परेको छ । पहिलो कुरा त हामीसँग श्रोत, साधन नै छैन । बजेट निर्माण नै हुँदैन । बजेट पुग्दैन । बजेट निकासा हुँदैन । तर जहाँ बजेट निकासा हुन्छ, जहाँ बजेट विनियम हुन्छ, त्यो क्षेत्रमा पनि निर्माण भएको हुँदैन । बजेट खर्च हुँदैन । पुँजीगत रकम खर्च भएको हुँदैन । त्यसको लागि योग्यता क्षमताको कुरा होइन, इमान्दारिता चाहिन्छ । यो इमान्दारिता मैले यहाँ देखिन । त्यसैले जुन बजेट छ, त्यो खर्च गर्न सकिएन । सम्बन्धित व्यक्तिहरुले, नेताहरुले, कर्मचारीहरुले आफूले जहाँ फाइदा हुन्छ, त्यहाँ खर्च गरेका हुन्छन्, जहाँ कमिसन पाइन्छ, जहाँ खान पाइन्छ, त्यहाँ मात्रै बजेट खर्च गरेका हुन्छन्, जहाँ पाइँदैन, त्यहाँ खर्च गरेका हुँदैन, त्यसकारण पुँजीगत खर्च गर्न सकेनौँ ।’ उहाँले नेताहरुले आफूले कमिसन खान पाउने ठाउँमा मात्रै बजेट खर्च गरिदिँदा समस्या आएको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल