नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमन विभागहरुको अध्ययन जरुरी रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याएर अध्यागमनहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बढी नेपालीहरु रहेको देशमा रहेका नेपाली दुतावासहरुमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुलाई सहज सुविधाको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले सम्बन्धित देशमा नेपापलीको संख्या कति छ ? भन्नेसम्मको एउटा तथ्यांक सहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा अध्यागमनहरुमा कहाँ कमजोरी छ र के करेक्शन गर्दा बलियो बनाउन सक्छौँ ? आज विश्वमा हेर्दा नेपालको पासपोर्ट कति कमजोर छ ? भन्नेकुरा सबैलाई थाहा छ । तर यस्ताकुरा हामी जिम्मेवार व्यक्तिले गल्ती गर्दै जाने हो भने यसलाई सुधार्ने कुरा कहीँबाट देखिँदैन । त्यसैले कुन दुतावासमा कति कर्मचारी छन्, त्यसले कसरी काम गरिरहेको छ ? सम्बन्धित देशमा नेपालीको संख्या कति छ ? भन्नेसम्मको एउटा तथ्यांक सहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक छ । श्रमसँग जोडिएर गएका देशहरुमा असाध्यै ठूलो संख्यामा नेपालीहरुको उपस्थिति हुने तर त्यहाँको व्यवस्थापकीय टिम कम हुँदा ठूलो समस्या परेको छ । कुनै देशमा श्रमको रोजगार भन्दा पनि अरु कामले बढी जाने र देशको ग्राभयिटीसँग जोडेर व्यवस्थापकीय टिम ठूलो हुने र त्यहाँका कर्मचारी त्यति धेरै बेफुर्सद नपर्ने खालको अवस्था छ, त्यसैले यसमा अध्ययन गर्न जरुरी छ ।’
सांसद बरालले विदेशस्थित दुतावहरुमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुको सेवालाई सहज बनाउनुपर्ने बताउनु भयो ।