नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा गायिक खुशी थुलुङ राईको पहिलो गिती एल्बम खुशीका रंगहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा इमान्दारिताको खडेरी परेको बताउनु भयो । राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउनसके देश बन्न धेरै समय नलाग्ने बताउनु भयो । उहाँले सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताउनु भयो । उहाँले संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सार्वभौम सत्ता सम्पन्न नेपाल त भन्न सक्यौँ । सार्वभौम सत्ता सम्पन्न नेपालमा नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न सकेका छैनौँ । त्यो भनेको एउटा मात्रै आवश्यकता छ । हामी लोकतान्त्रिक गणतन्त्रमा छाैँ । वंशीय शासनको अन्त्य गरेका छौँ । संविधानमा सबैको प्रत्याभुति हुनेगरी चित्र प्रश्तुत भएको छ । संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ । हामी सबै लागौँ । इमान्दारिताको खाँचो छ हाम्रो देशमा । इमान्दारिताको खडेरी लागेको छ । राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन । राजनीति रुपान्तरण गर्न आवश्यक छ ।’सांसद किराँतीले राजनीतिक रुपान्तरण गर्न आवश्यक रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल