राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गर्नुभएको छ ।
आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहनुभएको बताउनु भयो । चीनको भिसा प्रक्रियाको ढिलाइका कारण तीन हजार विदेशी पर्यटकहरु नेपालमा अलपत्र रहेको भन्दै भिसा सरलीकृत गरिदिन सरकारसँग आग्रह गर्नुभयो । मान सरोवर जानका लागि आएका करिव ३ हजार विदेशी पर्यटकहरु अहिले नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र अवस्थामा रहेको बताउनु भयो ।
सांसद खनालले भन्नुभयो, ‘यति बेला मानसरोवरको सिजन हो । संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहनुभएको छ । तर चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशीहरु नेपालका विभिन्न नाका काठमाडौंमा पनि ठूला ठूला होटलहरुमा ७०—८० जनाको समूह समूह नै एक हप्ता, डेढ हप्तादेखि अनिश्चितताको अवस्थामा बसिरहेको र यसले समग्रतामा नेपालकै पर्यटन सम्भावनाहरुलाई छेक्ने काम भएको छ । पहिला ४ दिनमा भिसा आउने रहेछ । अहिले १२ दिन भइसक्दा पनि भिसा आएको छैन । भिसा प्रक्रियाको सरलीकृत गर्न मन्त्रालयले के गर्नुपर्छ । तत्काल गर्नुपर्ने देखियो ।’
सांसद खनालले मान सरोवरका लागि पहिला ४ दिनमा भिसा आउने गरे पनि अहिले १२ दिन बितिसक्दासमेत भिसा नआएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल