नेपाली काँग्रेसका सांसद शेखर कोईरालाले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथिको आक्रमण लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ ।
बिहीवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद कोईरालाले सहमहामन्त्री यादवमाथिको आक्रमण लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको हो । उहाँले यस प्रकरणसँग जोडेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने बहश पार्टीभित्र नभएको स्पष्ट पार्नुभयो । उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई पीडितको मर्म र विचार समेटेर पारित गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सांघातिक हमला नेपाली कांग्रेसको लागि मात्रै होइन । नेपाली काँग्रेसको सहमहामन्त्री पर्नुभएको छ, त्यो दुखदायी हो हाम्रो लागि । तर यो देशको लोकतन्त्रमा प्रहार गरेको हो । त्यसरी हेर्छु म । गृहमन्त्रीको राजीनामाको सम्बन्धमा पार्टीमा बहश भएको छैन । टिआरसीको सम्बन्धमा जुन ऐन बन्दैछ त्यसमा पीडितहरुको सोचाई, विचारलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । सर्वोच्चको फैसला, अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेट्न सक्नुपर्छ । पीडितको मर्म र सर्वोच्चको फैसलालाई बुझेर मात्रै बनाउनुपर्छ ।’ त्यस्तै सो विधेयकमा सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय समुदायको भावनापनि समेटिनुपर्ने बताउनु भयो ।