नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध शुरु भएको देखिएको बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले दुई दलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको बताउनु भयो । उहाँले संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको बताउनु भयो । उहाँले अध्यादेश ल्याउने ट्रेण्ड सरकारको दुई तिहाईको दम्भ भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको छ । वास्तवमा अध्यादेश सरकारले ल्याउन पाउँछ, संवैधानिक व्यवस्था पनि छ । तर कस्तो बेलामा अध्यादेश ल्याउने भन्ने विशेष परिस्थिति जतिबेला संसदको बैठक तत्काल हुने अवस्था छैन, कानून नभएको कारणले गर्दा कतिपय काममा बाधा परेको छ, त्यतिबेला मात्रै अध्यादेश ल्याउने गर्दछौँ । यो अध्यादेश ल्याउने जुन ट्रेण्ड सरकारको देखिएको छ, हामीसँग दुई तिहाई छ, सत्ता पक्षका सांसदहरुले पनि बेला बेलामा बोलेको देखिन्छ, दुई तिहाई भएपछि हामीले जेजे गरे पनि हुन्छ, यो अध्यादेश ल्याएपछि अक्षरशः पास गर्न सकिन्छ र अध्यादेशका जतिसुकै नकारात्मक कुरा भएपनि पास गराउन सक्छौँ, सांसदको कुनै भुमिका हुँदैन, ह्वीप लगाएर भएपनि पास गराउनसक्छौँ भन्ने मक्सदका साथ सरकार देखापरेको छ । यसबाट के देखिन्छ भने निरंकुशताको गन्ध शुरु भएको छ । दुई दलीय तानाशाही शुरु हुने प्रपञ्च देखिन्छ ।’उहाँले सत्ता पक्ष र दुई तिहाईको दम्भ विभिन्न घटनाक्रममा देखिन थालेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल