राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेको थिए । उहाँले रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेको समेत बताउनु भयो । उहाँले कुटपिट गरिएको प्रति घोर आपत्ति जनाउँदै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अध्यक्ष महोदय अहिले जनप्रतिनिधिबाटै कर्मचारी कुटिएको छ । सोमवार तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुसालमाथि कुटपिट गरेको छ । रुपन्देहीको रोहनी गाउँपालिका २ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई कुटपिट गरेको छ । यो कुटपिटको घोर भत्र्सना गर्दछु । र यी वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गर्दछु ।’
उहाँले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले घटनाबारे आवश्यक अनुसन्धान गरी नेपाली विद्यार्थीलाई अलपत्र पार्ने काम गरेको विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न कुटनीतिक पहल गर्न माग गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल