नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले ल्याएको अध्यादेशबाट आम नागरिक खुशी भएको भन्दै प्रतिपक्षी दलहरु दुःखी हुनुपर्ने कारण नरहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले अध्यादेशबारे प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदको रोष्टमबाट भ्रमको तुवाँलो छर्ने काम गरेको बताउनुभएको हो । जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न उहाँले आग्रह गर्नुभयो । उहाँले नागरिक, व्यवसायी सबैले अध्यादेशको समर्थन गरेको भन्दै उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको ? भन्दै प्रश्नसमेत गर्नुभयो । अध्यादेशबाट डुब्न लागेका उद्योगहरु माथि उठ्ने विश्वास व्यापारीहरुले गरेको समेत उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले सरकारले ल्याएको अध्यादेश वदनियतले ल्यायो, स्वार्थ समूहको हितमा ल्यायो, नेपाली जनताको हितमा छैन भनेर उहाँले भनिरहनुभएको छ । यो भन्दा विडम्बना अरु के हुन्छ । अध्यादेश जारी भइसकेपछि व्यापारी तथा उद्योगीहरुले खुला रुपले स्वागत गर्नु भएको छ । हामी पछिल्लो पाँच वर्षमा डुब्ने र मर्ने स्थितिमा पुगेका थियौं । यो सरकारले हाम्रा समस्याहरु बुझ्न थाल्यो, आशा जगाउने स्थिति बन्यो भनेर उहाँहरुले धन्यावाद दिइरहनुभएको छ । आइटी क्षेत्रमा लागेका युवाहरु अब नेपालमा मात्र होइन विदेशमा समेत शाखा विस्तार गरेर व्यापारमार्फत मनग्य आम्दानी गर्न सकिने भयो भनेर खुसि व्यक्त गरिरहेका छन् । आज मजदुर, उद्योगी व्यवसायी र किसान खुशी छन् । तपाईले कसलाई स्वार्थ समूह भन्न खोज्नुभएको हो ? म प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रश्न गर्न चाहान्छु । जनता र आम उद्योगी खुशी छन् भने प्रतिपक्षी दुःखी हुनुपर्ने कारण के हो ? यो प्रश्न समेत राख्न चाहन्छु सभामुख महोदय ।’
उहाँले देशको प्रधानमन्त्रीमाथि विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर बद्नाम गरिएको भन्दै त्यसमा नलाग्न आग्रह गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल