सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ ।
उहाँले सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गर्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराउनु भयो । उहाँले आफ्नो पार्टीको सुशासनमाथिको प्रतिवद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताउनु भयो । सांसद झाले देशलाई यही व्यवस्था भित्र सुशासनको माध्यामबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासन नपाएर यो देशमा समस्या भएको हो । र ती सबै चिजको समाधानका लागि गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बनेको हो । हामी यही व्यवस्थामा फरक अवस्था सुधारिएको अवस्था चाहन्छौ भनेर आएको हो । र राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै त्यही मुद्दाको आधारमा भएको हो । त्यसैले हामीबाट सुशासन नपाइएला कि वा सुशासनका लागि हामीले अवरोध सुजना गर्ला कि भनेर आशंका कतै नगरिदिनुस् । किनकी हाम्रो दलको सृजना र स्थापनाको आधार नै त्यही हो । त्यसैले त्यसमा आशंका नगरिदिन अनुरोध गर्दछु । यो सदनमा बोल्नु पाउनु पर्छ भन्ने कुरा नियमावलीका खुलस्त व्यवस्था गरिएको छ । यो सदनमा निराधार कुनै व्यक्तिप्रति पटक पटक निराधार लाञ्छनाहरु लगाउन पाइदैन भनेर पनि भनिएको छ । कानूनले कुनै निर्णय दिईसकेको छैन । सुरक्षा निकायले आफ्नो सूचना दिईसक्यो । देशको सम्माननीय प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति दिइसक्नु भयो । त्यो चौकीमा गएर कसैले दिईसकेको एउटा उजुरी हो । जुन दर्ता भएको छैन । त्यहाँ आफ्नो प्रायोजित पत्रकारहरुलाई केही लेख्न लगाइएको सूचना मात्रै हो । त्यसमा प्रश्न छ । निष्कर्ष छैन । तर त्यसको आधारमा पटकपटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति पनि हाम्रो आपत्ति छ । आउनुस–कानूनी रुपमा जाउ । आउनुस प्रक्रियागत रुपमा जाउँ । कति कुण्ठा पालेर बस्नुहुन्छ ? त्यसैले यस्तो राजनीति नगरौं । हामीले न्यूनतम साझा कार्यक्रम पहिलो बनायौं । सरकारमा संलग्न हुँदै गर्दा २०७९ साल पुस २५ गते । त्यसमा हाम्रो दलको तर्फबाट लेखिएको थियो–अहिलेसम्मका भ्रष्टाचारका सबै मुद्दाको छानविन गरियोस भनेर । पछि काँग्रेस नेतृत्वको गठबन्धनले भ्रष्टाचारको मुद्दामा बहस नगरौं भनेर त्यो बुँदा हटायो । मैले चैत्र २४ गते विशेष समय मागेर त्यसको गुनासो पनि गरेँ । सरकारमा हामी संलग्न भएपनि, नभएपनि यो देशमा भ्रष्टाचारीलाई, बलात्कारीलाई सजाय दिनुपर्छ । कृपया, त्यो नहटाईदिनुस भनेर सरकारलाई भन्यौं । उहाँहरुले हटाई दिनुभयो । हामीले तेस्रो न्यूनतम साझा कार्यक्रम बनायांै । हामी सरकारमा फेरी फर्कियो । त्यसपछि हामीले चैत्र ६ गते त्यसमा फेरि हामीले लेखेका छौ कि सबै भ्रष्टाचारका फाईलहरु खोलौै । र भ्रष्टाचारको अनुसन्धान गर्ने संयन्त्रहरुलाई अझ सशक्त बनाऔं । सहकारीको सबै मुद्दाहरुको छानविन गरेर निराकरणको प्रश्ताव पनि राख्यौं । हामीले कहिले छानविन नगरौं भनेर भनेका छौं ? तर हिजो हामीले थाहा पायौँ कि जरुरी सार्वजनिक महत्वको प्रश्ताव भएको रहेछ । नेपाली काँग्रेसको दुई सहमहामन्त्री र उपसभापतिले प्रश्ताव दर्ता गर्नुभएको रहेको रहेछ । हामीले यहाँ बोल्यौं २०४७ पछिको सबै छानविन गरौं भनेर । एक जना महामन्त्रीले ३ बजेर ८ मिनेटमा र अर्का महामन्त्री ८ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमा बोल्नुभयो–र हाम्र्र्र्र्रो प्रश्तावको स्वागत गर्नुभयो । ल आउनुस् अब हामी एक ठाउँमा आईपुगेका छौं । २०४७ पछिको सबै फाईल खोलौं । ’
सांसद झाले भ्रष्टाचारको अन्त्यको अभियानमा सबै दलहरु एक हुनुपर्नेमा पनि जोड दिनुभयो ।
—न्युज एजेन्सी नेपाल