नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद अवरोध गरेर नेपाली कांग्रेसले अलोकतान्त्रिक गतिविधि गरेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले नेपाली काँग्रेसले संसदीय छानविन समिति गठनको मागसहित संसद अवरोध गरेर अलोकतान्त्रिक गतिविधि गरेको बताउनुभएको हो । उहाँले संसद समग्र विषयवस्तु उठान गर्ने थलो भएको भन्दै कुनै एउटा प्राविधिक विषयलाई लिएर लामो समयसम्म संसद अवरोध गर्नु नहुने बताउनु भयो । उहाँले काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले संसद अवरोध गरेर गैरजिम्मेवारी प्रश्तुत गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा त समग्र विषयवस्तु उठान गर्ने थलो हो । एउटा कुनै प्राविधिक विषयलाई लिएर महिनौँसम्म सदनलाई अवरुद्ध गर्ने, प्रभावित पार्ने, उत्तेजित पार्ने, तरंगित पार्ने थलो होइन । नीति निर्माणको थलो हो । त्यसकारण जिम्मेवार पार्टीको तर्फबाट, नेपाली काँग्रेस लोकतन्त्रको सन्दर्भमा असाध्यै जिम्मेवार पार्टी हुँदाहुँदै पनि जिम्मेवार पार्टीले अलोकतान्त्रिक र गैरजिम्मेवार गतिविधि गरेको देखिन्छ । महिनौँ अवरोध गर्ने कुरा, महिनौँ प्रभावित गर्ने कुरा आफैँमा यो अराजनीतिक पनि छ । गैरजिम्मेवार पनि छ । त्यसो गर्न मिल्दैन । सहकारी ठगहरुलाई कानूनी दायरामा ल्याउने कुरा ठिक छ । तर सहकारी ठगहरुलाई कानूनी दायरामा ल्याउन हामीसँग पर्याप्त कानुनहरु छ । अख्तियारप्राप्त निकायहरु छन् । यही विषयवस्तु उठाएर महिनौसम्म अवरुद्ध गर्ने कुरा गलत छ ।’
सांसद दाहालले काँग्रेसले उठाएको सहकारी ठगहरुलाई कानूनी दायरामा ल्याउने कुरा ठिक भएपनि कानूनी दायरामा ल्याउन पर्याप्त कानूनहरु भएकोले सोही अनुसार गर्नुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल