नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमसीसी परियोजनाको सम्बन्धमा कसैले विवाद गर्नु नहुने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले एमसीसी परियोजना राष्ट्रिय स्वार्थ अनुकुल भएन भने सम्झौता खारेज हुने भन्दै यस विषयमा फेरि विवाद गर्नु नहुने बताउनु भयो । उहाँले मुलुक र जनताको हितलाई केन्द्रमा राखेर एमसीसी परियोजना कार्यान्वयन हुने बताउनु भयो । एमसीसीको सम्बन्धमा सिंगो राष्ट्र एक हुनुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘एमसीसी एउटा सन्दर्भमा आयो । आइसकेपछि नेपालको सिंगो संसदले १२ बुँदे व्याख्यात्मक घोषणासहित हामीले हाम्रो राष्ट्रिय स्वार्थ अनुकुल भएन भने हामीले यो सम्झौता खारेज गर्न पाउने अधिकारसहित सुनिश्चित भएपछि यो परियोजना कार्यान्वयन प्रक्रियामा अगाडी बढेको छ । हामीले कार्यान्वयन प्रक्रियालाई सहयोग गर्ने । सबैले सहयोग गरेर पाँच वर्षभित्र कमसेकम विद्युत बिस्तार र सडकको क्षेत्रमा जो लगानी हुँदैछ । यसको भरपुर मुलुक र जनताको हीतलाई केन्द्रमा राखेर एमसीसी कार्यान्वयन गर्ने प्रक्रियामा जान्छ । हामीले सर्तकतापूर्वक विश्वासमा लिएर यो परियोजना अगाडी बढ्छ । सिंगो राष्ट्र एक हुनुपर्छ यो मामिलामा । फेरि विवाद गर्नु हुँदैन ।’
उहाँले यस परियोजना सर्तकतापूर्वक र विश्वासमा लिएर अगाडी बढ्ने बताउनु भयो ।