नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो । उहाँले प्रतिगामी तत्वहरु संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताउनु भयो । उहाँले उहाँ मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला फेरि प्रतिगामी तत्वहरु कुर्लिंदैछन् । र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन् । हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धीहरु फेरि खोस्न चाहादैछन् । आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् । आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरु दिनदिनै कमजोर बन्दै गइरहेका छन् । हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ । हरेक ठाउँमा अनावश्यक नाराहर गुञ्जिरहेको छ । त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ । हामीले प्राप्त गरेका उपलब्धीहरुको नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं ।’उहाँले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल