नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले स्रोत, साधनहरुको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले हामीसँग भएको पर्याप्त स्रोत, साधनहरुको व्यवस्थापन गर्न नजान्दा अर्थतन्त्र संकुचनमा परेको बताउनुभएको हो । उहाँले स्रोत, साधनहरुको सही परिचालन, सही उपभोग र सही व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताउनु भयो । उहाँले नेपालमा अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता भएको बताउनु भयो । संरचना र संस्थाहरु बलियो बनाउनसके परिणाम निकाल्न सकिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘अर्थतन्त्रको चुनौतीलाई सामना गर्दै नेपालको द्रुततर आर्थिक विकास कसरी सम्भव छ भन्ने प्रश्न नै हो । त्यसकारण हामीसँग भएका पर्याप्त स्रोत, साधनहरु हाम्रो व्यवस्थापकिय कला, क्षमता र हाम्रा कार्यान्वयनका अदक्षताका कारणले आज हामी गरिब, हाम्रो अर्थतन्त्र संकुचनमा पर्नुपरेको कारण हो नै । यद्यपी कोभिड लगायतका विश्वमा चलेका द्वन्दका प्रभावहरु पनि आफ्नो ठाउँमा छन् । तर त्यसको बाबजुद पनि पर्याप्त स्रोत, साधनहरुको सही परिचालन, सही उपभोग, सही व्यवस्थापन गर्ने हाम्रो संरचनागत कमजोरी, हाम्रा संस्थागत असक्षमताका कारणले नै आज हामी समस्याग्रस्त छौँ । त्यसअर्थ सबभन्दा पहिला त हाम्रो संरचना र संस्थाहरुलाई बलियो बनाउने प्रश्न नै प्रधान प्रश्न हो । कसरी हाम्रा संरचनाहरु बलिया बनाउन सक्छौँ ? संस्थाहरु बलिया बनाउन सक्छौँ ? भन्ने कुराबाट नै विषयलाई अगाडी बढाउनुपर्छ भन्ने मैले मान्यता राख्दछु । जब ति संरचना र संस्थाहरु बलिया हुन्छन्, त्यसले एउटा परिणाम दिने अवस्था सिर्जना हुनसक्छ ।’
उहाँले देशलाई समृद्ध बनाउनका लागि दश वटा एजेन्डाहरुमा राष्ट्रिय सहमति गर्नुपर्ने बताउनु भयो । उहाँले एकले ल्याएको नीति र बजेट अर्कोले काट्ने गलत परम्पराबाट देश अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहमतीका साथ अगाडी बढ्ने हो भने देशको समृद्धि सम्भव भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘म के भन्न चाहान्छु भने नीति, निर्माण गर्नु मात्रै ठूलो कुरा होइन । कार्यान्वयन गर्ने हाम्रो संरचनागत समस्याहरुको सुधार गर्ने कुरा हो । त्यो गर्नका लागि पक्ष र विपक्षको द्वन्द्व आज हामीले जे गरिरहेका छौँ । पक्ष र विपक्षको द्वन्द्वबाट नभएर १० वटा एजेन्डाहरुमा राष्ट्रको सहमती चाहिन्छ । यो सदनको सहमती चाहिन्छ । त्यो सहमती गरेर जाने हो भने हाम्रो देशलाई ५÷१० वर्षमा समृद्ध देश बनाउन सक्छौँ । एकले गरेको राम्रो काम अर्कोले बिरोध गर्ने, एकले ल्याएको नीति अर्काले काट्ने, एकले ल्याएको बजेट अर्काले काट्ने जो परम्परा छ, यो गलत परम्पराबाट देश अगाडी बढ्न सक्दैन । दशवटा मुख्य बुँदाहरुमा सहमती गरेर राष्ट्रिय सहमतीको आधारमा अगाडी जाने संकल्प गर्यौँ भने हाम्रो देश किन बन्न सक्दैन ? हामी गर्नसक्छौँ । सम्भव छ । सहमतीको प्रक्रियाबाहेक द्वन्द्वको प्रक्रियाबाट राष्ट्र अगाडी बढ्न सक्दैन ।’
उहाँले अर्थतन्त्रमा देखिएका चुनौतिहरुको समाधान हुनेगरी संसदमा छलफल गरेर बजेटको सिद्धान्त र प्राथमिकता परिमार्जन गर्नुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल