नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजश्व चुहावट रोक्नका लागि राजश्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रक्षेपण गरेको जति राजश्व उठ्न नसकेको बताउनु भयो । उहाँले राजश्वका नाकाहरुमा पारदर्शिता नभएको, मुल नाकाहरु भन्दा बाहिरबाट सामान आयात निर्यात भएको बताउनु भयो । उहाँले भन्सार तोकिएका वस्तुहरुको मूल्य फरक हुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सरकारले जति प्रक्षेपण गरेको छ राजश्व संकलनको आजका मितिमा आजको दिनको जति लक्ष्य टार्गेटिट हो, त्यो भन्दा १२० अर्ब भन्दा कम राजश्व उठेको छ । यस्तो किन भयो । यो विधेयकले कानून बनेपछि त्यसलाई अन्त्य गर्ने विश्वास व्यक्त गर्न सकिन्छ । राजश्वका नाकाहरुमा पारदर्शिता छैन । मुल नाकाहरु भन्दा बाहिरबाट सामान आयात निर्यात भएको छ । भन्सार तोकिएका वस्तुहरुको मूल्य फरक छ । त्यस स्थितिलाई रोक्नका निम्ति राजश्व प्रशासनको पारदर्शिता, राजश्व क्षेत्रमा हस्तक्षेप हटाउने, जवाफदेही बनाउने कुरा र राजश्वलाई देश निर्माणको आधार बनाउने गरी यो अघि बढ्न सकोस् ।’उहाँले राजश्वलाई देश निर्माणको आधार बनाउन आवश्यक रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल