नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले कानूनी समस्याका कारण नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न नसकिएको भन्दै सो समस्या समाधान गर्न माग गर्नुभएको छ ।
बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न कानून नै नरहेको भन्दै सो समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा उत्पादित कतिपय साम्रगीहरु विदेश बेच्ने कानून नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले काठमा पनि नेपाल आत्मनिर्भर रहेको उल्लेख गर्दै विदेशबाट काठ आयात गर्नु नहुने बताउनु भयो । त्यस्तै राजमार्गहरुमा सहजै सञ्चार सुविधा पाउने वातावरण बनाउन आवश्यक ठाउँमा टेलिफोन टावरहरु राख्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेपालको जस्तो गुणस्तरीय काठ कहाँ छ ? नेपालका काठबाट यति राम्रा फर्निचर हुन्छन् । हाम्रो काठ अर्बौ, खर्बौ रुपैयाँको आगोले खाएको छ । त्यतातिर ध्यान छैन, विदेशबाट कसरी आयात गर्ने ? सचिव, मन्त्रीहरु त्यसैमा केन्द्रित हुने । त्यो के कारणले हो ? बाटोमा हिँड्दा बाटोमा टावर लाग्दैन । ठाउँ ठाउँमा टावर बनाइदियो भने अहिले जति अर्ब घाटा छ, त्यो मेकअप होला । चुहावट धेरै छ । दूरसञ्चार घाटामा जाने के कारणले हो ? नेपालमा पनि टायल उद्योग छ, हामीले उत्पादन गरेको चाहीँ विदेश जानु नहुने । उद्योग मन्त्रालय पनि नलेख्ने । नेपालमा उत्पादन गरेका टायलहरु विदेश लैजान पाउँ भनेर उद्योगपतिले भन्यो भने त्यो दिनलाई कानून नै छैन । कहिले बनाउने हो यो कानून ? किन्ने मात्रै कानून बनाउने । नेपालबाट विदेश लैजाने कानून नै छैन । किनभने ल्याउने मात्रै कानून बनाउने ? बेच्ने कानून बनाउँदा आपत्ति के हुन्छ ? के कारणले विदेशमा बेच्नु नहुने हो ?’
सांसद तिमल्सिनाले राष्ट्रिय गौरवको आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुनेगरी निर्माण कार्य हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।