नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गर्नुभएको हो । उहाँले अमेरिकाले गैरआवासीय नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य,मान्यताविरित निकाला गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आवासमा रहेका नागरिकहरुको सुरक्षामाथि सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । उहाँले अमेरिका, जापान, कोरिया लगायतका मुलुकबाट नेपाली नागरिक डिर्पोट भइरहेको उल्लेख गर्दै उनीहरुको सहज स्वदेश फिर्तीको लागि पहलकदमी अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समयअघि २५ जना नेपाली नागरिक निकै अपमानित तरिकाले हातमा हत्कडी, नेल र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य,मान्यता विपरित नेपालीहरुलाई फिर्ता गरिएको छ । दुवैबाट दुई हजार पाँच सय, जापान, दक्षिण कोरिया, अजरबैजान लगायतका देशहरुबाट नेपालीहरु डिर्पोट भएर फिर्ता आउने क्रम रहेको छ । एक तिहाई जनसंख्या विदेशमा छ । विदेशमा रहेका नेपालीहरुको सुरक्षा गर्नको लागि र उनीहरुलाई सहजतापूर्वक नेपाल फिर्ता गर्नको लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय प्रकारको सेल गठन गरेर नेपालीहरुको सुरक्षाको निम्ति गम्भिर पहलकदमी लियोस् । ’
उहाँले गैरआवासीय नेपालीको सुरक्षाको लागि सरकार गम्भिर नभएको आरोप समेत लगाउनु भयो ।
—न्युज एजेन्सी नेपाल