सत्तारुढ दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसंख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसावले छुटेको बताउनु भयो । जनसंख्या छुट्ने कुरा गम्भीर रहेको र जनसंख्यासम्बन्धीका केही तथ्यांकहरु डरलाग्दो रहेको बताउनु भयो । उहाँले १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनसंख्या महाशाखाले काम गरिरहेको जस्तो लागेको छैन । छुट्टै विभाग चाहिने पो हो की ? अथवा तथ्यांक तथा जनसंख्या विभाग चाहिने हो की । जनसंख्याको काम स्वास्थ्यमा भएकै छैन । सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसावले छुटेको छ । जनसंख्या छुट्ने कुरा गम्भीर हो । केही तथ्यांक डरलाग्दा छन् । १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या छ । २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी छ । त्यो असन्तुलन छ । जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले कुन रणनीतिका साथ उपयोग गर्छ यसमा गम्भीरताका साथ लिनुपर्छ ।’
सांसद पाण्डेले जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल