सांसदहरुले विद्यालयको आधारभुत तहदेखि नै नैतिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले विद्यालयको आधारभुत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्ने बताएका हुन् । उनीहरुले अहिलेको समयमा नैतिक शिक्षा पढाउनु अत्यावश्यक भइसकेको भन्दै नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गराउनुपर्ने बताए । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले अहिले नैतिक शिक्षा तथा व्यवहारिक शिक्षाको महत्व खड्किएको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनुपर्ने बताउनु भयो । त्यस्तै पोषणका कुराहरु र स्वस्थ जीवनशैलीका कुराहरु पनि विद्यालय तहबाट नै अध्यापन गराउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहलाई मौलिक हक, अधिकार, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरुको पनि ज्ञान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नैतिक शिक्षा किन हटाइयो ? फेरि राख्ने तयारी गर्नुभएको छ कि छैन ? अहिले नैतिक शिक्षा, व्यवहारिक शिक्षाको महत्व खड्किएको अवस्था छ । पाठ्यक्रममा समेट्नुपर्ने विषय पोषणको पनि छ । अहिले धेरैजसो नसर्ने रोगहरु एकदमै बढिरहेको अवस्था छ । घरघरमा सुगर, प्रेसर, दमका बिरामीहरु हुन्छन् । यो विद्यालय तहदेखि पढाउनुपर्नेछ । स्वस्थ जिवनशैली कसरी अपनाउने भन्ने विषयमा । आफ्नो मौलिक हक, अधिकारका कुराहरु, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरु सानैदेखि सिकाउनुपर्छ । व्यवहारिक शिक्षा पर्याप्त सिकाउनुपर्छ । बरु सैद्धान्तिक कुराहरुलाई कम गरौँ ।’
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यार्थीहरुलाई प्रविधिको विकास र सुविधा अनुसारको पाठ्यक्रम बनाएर शिक्षा दिनुपर्ने बताउनु भयो । उहाँले व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जंकफुडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पुगिरहेको भन्दै यस सम्बन्धमा सचेतना दिने हिसाबले सानैदेखि सिकाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामीले गाउँगाउँमा विकास त गर्यौँ । गाउँगाउँमा ग्याँस, बिजुली पु¥यायौँ । गाउँगाउँमा मोटर पुग्यो । तर बिजुलीको प्रयोग एउटा बच्चाले कसरी गर्ने ? ग्याँसको प्रयोग कसरी गर्ने ? मोटरदेखि कसरी सुरक्षित हुने भन्नेकुरा हामीले पाठ्यक्रममा राख्न सकेनौँ । आज मैले पिएचडि गरेँ । पिएचडि गरेर के गर्ने ? म ग्याँस बाट जल्न सुरक्षित हुन सकिँन । पाठ्यक्रममा प्रविधिको विकास अनुसार, सुविधाको विकासअनुसार सानो बच्चाबाट लान सकेनौँ । समाजमा जंक फुड छ । शहरी इलाकामा एउटा बच्चा जन्माउने नाममा औषधिको सेवनले गर्दा कुनै न कुनै अंग बिग्रिएका बच्चाहरु जन्मिएका छन् । यि समस्याहरु छन् । यी कुराहरु गर्नु हुन्छ हुँदैन भन्ने कुरा तल्लो स्तरबाट गएनौँ भने यसले नेपालमा अर्को ठूलो रोग ल्याउने छ ।’
त्यसैगरी, बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद सरिता भुसालले विद्यार्थीहरुलाई देशभक्तिका कुराहरु पढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभक्तिको कुराहरु पढाएमा विद्यार्थीहरु विदेशिनबाट रोकिने बताउनु भयो । उहाँले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताउनु भयो । संस्कारविहिन शिक्षा मेसिनरी शिक्षा हुने भन्दै यस्तो शिक्षा पाएकाहरुले देश र अभिभावकहरुलाई माया गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अहिले हाम्रा युवाहरु धेरै विदेशिने परम्परा चलिराखेको छ । बच्चाहरुलाई देशप्रतिको माया र भक्ति भावना जगाउने खालका र धेरै कुराहरु देशमै सम्भव छ भन्नेखालका कुराहरु हामीले पाठ्यक्रममा राख्यौँ भने बच्चाहरु विदेशिनबाट रोकिन्छन् । विशेषगरी पाठ्यक्रमहरु बनाउँदै गर्दा हाम्रो संस्कृति, भेषभुषा, स्वदेशप्रतिको माया, बच्चाहरुलाई दिइने संस्कार सहितका शिक्षा । यदी हामीले शिक्षासँगै संस्कार राखेनौँ भने मान्छे शिक्षित भएर मात्रै पनि चेतनशिल हुन्छ भन्ने छैन । त्यसैले संस्कारलाई पनि हामीले पाठ्यक्रममा राखौँ । व्यवहारिक शिक्षा, नैतिक शिक्षा, संस्कारयुक्त शिक्षाहरु सिकाउन सकेनौँ भने बच्चा मेसिन जस्तो मात्रै उत्पादन हुनेछ । मेसिनरी शिक्षा पाएका बच्चाहरुले न त यो देशलाई माया गर्छ । न त अभिभावकहरुलाई माया गर्छन् ।’
त्यस्तै नेकपा(एमाले)का सांसद डा. कालुराम राईले पनि पाठ्यक्रममा नैतिक शिक्षा जरुरी रहेको धारणा राख्नुभयो । उहाँले संविधानले परिभाषित गरेको बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश अनुरुपको नैतिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – ‘पाठ्यक्रममा नैतिक शिक्षा अत्यन्त जरुरी छ । हाम्रो संविधानले हाम्रो समाज भनेको बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । त्यसो भएको हुनाले पनि हामीले नैतिक शिक्षा दिँदाखेरी कुनै धार्मिक आस्थाको भरमा नैतिक शिक्षाको नियमहरु बनाउने ? ति कुराहरु ख्याल गरेर पाठ्यक्रममा राख्नुपर्यो ।’
सांसद राईले स्वस्थ जिवनशैली, ट्राफिक सचेतना लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरेर शिक्षा दिनुपर्ने बताउनु भयो ।