पोखरा, २७ फागुन । मन्टेश्वरी एशोसियसन कास्कीको आयोजनामा तीनदिने अभिभावक शिक्षा प्रशिक्षण कार्यक्रम शनिवारबाट सुरु भएको छ । पोखराको लेकसाइड स्थित पौवा होटलमा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि आचार्यले एशोसियसनले गरेको यस प्रकारको कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाले यसअघिपनि महानगरका शिक्षकहरुलाई लिएर यस्तो कार्यक्रम संचालन गरेको स्मरण गर्नुभयो । उहाँले आफैले पाठ्यक्रम र प्रयोगशाला बनाएर अपनाइने सिकाइको पद्धति भएकाले यसमा निकै मिहेनत र अध्ययनको आवश्यकता रहेको बताउनुभयो । आफु देशभरका विद्यार्थीले पठ्ने विषयका पाठ्यक्रमका बारेमा जानकार रहेको बताउदै उहाँले मन्टेश्वरीहरुले गरिरहेको कामले समाजमा महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । कार्यक्रममा पोखरा आसपासका ५० जना मन्टेश्वरीका संस्थापक र प्रिन्सिपलहरुको सहभागिता रहेको छ ।
तीन दिन (सोमवार) सम्म संचालन हुने कार्यक्रममा सहभागिहरुलाई वालवालिकालाई ८ वर्षको उमेरसम्म कस्तो व्यवहार गर्ने, उनिहरुलाई घर परिवारमा कस्तो वातावरण दिने, कसरी सिकाई प्रकृया संचालन गर्ने, वालवालिकाको मनोविज्ञान र उनिहरुको हेरचाहको विषयमा प्रशिक्षण दिईने छ र उनिहरुले आफ्नो मन्टेश्वरीमा रहेका वालवालीका र उनिहरुका अभिभावकहरुलाई सिकाउने अपेक्षा राखेको एशोसियसनका अध्यक्ष भवानी बरालले जानकारी दिनुभयो । २० औ शताब्दिमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको मन्टेश्वरी शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ । नेपालमा पनि पोखरा, काठमाण्डौ लगायत देशका मुख्य शहरहरुमा मन्टेश्वरी पद्धतिले बालबालिकालाई सिकाउने उद्देश्यले थुप्रै मन्टेश्वरी स्कूलहरु संचलनमा आएका छन् ।
मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरु आत्म निर्देशित अर्थात् रुचिकर गतिविधिहरुमा तल्लीन रहन्छन । सामान्यतया २ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी गराएर सिकाउने विधि मन्टेश्वरी शिक्षा हो । मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले विश्वभरि नै मन्टेश्वरी शिक्षा प्रख्यात रहेको छ ।
साथै अहिले पोखरा आसपासमा ८० बढी मन्टेश्वरी रहेपनि एशोसियसनमा ५० मात्र मन्टेश्वरी आवद्ध भएकाले आफ्नो कार्यत्रकालमा सबैलाई आवद्ध गराउने आफ्नो उद्देश्य रहेको अध्यक्ष बरालले जानकारी दिनुभयो । एशोसियसनका अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रिता देवी सुवेदी ले गर्नुभएको थियो भने स्वागत कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक संगिता न्यौपानेले गर्नुभएको थियो ।