रौतहट । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।
घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिनुभयाे ।
पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन् । उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ ।
गोली प्रहारबाट घाइते भएका नितेशको बारापको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो । आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी गिरीले जानकारी दिनुभयाे ।