धनुषा । धनुषाको मिथिला नगरपालिकाले ७८ करोड २ लाँख बढीको बजेट पारित गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को लागि जेष्ठ नगरसभा सदस्य हरिकुमार यादवले पेश गरेको ७८ करोड २ लाँख ६ हजार ७२७ रुपैयाँको बजेट नगरसभाले पारित गरेको हो।
संघीय सरकारको समानीकरण अनुदान मार्फत प्राप्त हुने रकम १३ करोड ३४ लाख, संघीय सरकारको सशर्त अनुदानतर्फ २६ करोड २३ लाँख, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १२ करोड ९ लाख ३ हजार, प्रदेश सरकार समानीकरण अनुदान मार्फत ९९ लाख ८१ हजार प्राप्त हुने बताइएको छ।
यस्तै, सवारी साधन कर बाँडफाँड रकम मार्फत ३७ लाख २२ हजार १९५ रुपैयाँ ८० पैसा, प्रदेश सरकार समपुरक अनुदान मार्फत २० लाख, प्रदेश सरकार विशेष अनुदान मार्फत ३० लाख, आन्तरिक आय मार्फत १ करोड ७५ लाख, नदिजन्य पदार्थको बिक्री तथा निकासी कर मार्फत ३ करोड, विज्ञापन कर मार्फत ३ लाख ३० हजार, मालपोत रजिष्ट्रेसन बाँडफाँड मार्फत २ करोड २५ लाख र गत आर्थिक वर्षबाट सरी आउने अनुमानित रकम १७ करोड ४५ लाख ७० हजार ५३१ रुपैयाँ २० पैसा गरी कुल ७८ करोड २ लाख ६ हजार ७२७ रुपैयाँ नगरपालिकाको स्थानीय संचित कोषमा रहने अनुमान गरेको जेष्ठ नगरसभा सदस्य यादवले बताउनुभयाे।
उहाँका अनुसार संचित कोषबाट विभिन्न शीर्षकमा विनियोजन गरिएको छ। कार्यालय संचालन तथा प्रशासनिक खर्च ११ करोड ९१ लाख ८८ हजार ८६२ रुपैयाँ, वडा कार्यालयहरुलाई हस्तान्तरण ९ करोड ९० लाख, कृषि तर्फ १ करोड २० लाख, पशु विकासतर्फ ३६ लाख १० हजार, स्वास्थ्यतर्फ १ करोड ७१ लाख ९५ हजार २०० रुपैया, महिला बालबालिकामा ३४ लाख, पंजिकरणतर्फ ७ लाख, क्षमता विकासतर्फ ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै, उद्योग तथा राजश्व प्रशासनतर्फ ५ लाख, सूचना प्रविधि तर्फ १० लाख ५० हजार, शिक्षातर्फ १ करोड ५३ लाख १८ हजार, खानेपानी तथा सरसफाईतर्फ १० लाख ५५ हजार, गत आर्थिक वर्षको भुक्तानी बाँकी तथा सरी आएको योजनातर्फ ३ करोड ८५ लाख ५४ हजार ६६५, संघीय सरकारको शशर्त आयोजना तथा कार्यक्रमतर्फ २६ करोड २३ लाख र भौतिक पूर्वाधारका आयोजनातर्फ २१ करोड १८ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले बताउनुभयाे।
उहाँले नगरसभाका बहुमत सदस्यबाट बजेट पारित गरिएको दावी गर्नुभयाे। ६१ जना नगरसभा सदस्य रहेकोमा ३१ जना सदस्यहरुबाट पारित गरिएको प्रवक्ता स्याङ्दनले बताउनुभयाे।
यसअघि सोमवार भएको नगरसभाको उद्घाटन सत्रमा मेयर महेन्द्र महतोले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्नुभएकाे थियाे। तर केही सञ्चारमाध्यमहरुले मिथिला नगरपालिकाले ८० करोडको बजेट प्रस्तुत गरेको समाचार छापेका थिए। ८० करोड बजेटको समाचार कसरी बाहिरियो भन्ने जिज्ञासामा प्रवक्ता स्याङ्दनले भन्नुभयाे, ‘त्यो समाचार गलत हो। अस्ति बजेट नै प्रस्तुत भएको थिएन। कसरी ८० करोड बजेट रहेको समाचार छापियो भन्ने विषयमा हामी आफै अनभिज्ञ छौं।’