हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखानुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातीमा देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।