काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । १८ पुस सोमबार दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरको सम्झौता भएको छ ।
मर्जरपछि बन्ने संस्थाको नाम स्वरोजगार लघुवित्त नै रहनेछ भने सञ्चालक समितिमा अध्यक्षसहित ४ जना स्वरोजगार लघुवित्तबाट र तीन जना समता घरले लघुवित्तबाट रहने सहमति भएको छ । प्रमुख कार्यकारी अधिकृत भने समता घरेलु लघुवित्तका डा. मदन घिमिरे हुने सहमति भएको स्रोतले जनाएको छ ।
हाल स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४१ लाख र समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट दुबै संस्थाले आफ्नो क्षमताअनुसार लाभांश बाँडेर जाने सहमति भएको स्रोतले जनाएको छ ।