काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँड र समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष ओली शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएकाे हाे।
प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष ओलीलाई सत्ता साझेदार दलको संयोजक बनाउने निर्णय गरेको थियो। एमाले महासचिव शंकर पोखेलका अनुसार सत्ता साझेदार दलले सरकारसँग समन्वयका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइएको हो। उक्त संयन्त्रमा नयाँ सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू रहनेछन्।
सत्ता साझेदार दलको संयन्त्रले पाँच दिनभित्र सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्ने भएको छ। पोखरेलका अनुसार नयाँ सरकारका न्यूतनम साझा कार्यक्रम तय गर्न एमाले उपाध्यक्ष एव् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट डा मुकुल ढकाल, राप्रपाबाट डा धवलशमशेर राणा रहने भएका छन्। समितिमा जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीबाट पनि सदस्य थपिने भएका छन्। बैठकमा उनीहरूको उपस्थिति नभएको कारणले सदस्य नतोकिएका हो।
एमाले अध्यक्ष ओलीसहितको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुभएकाे हाे। प्रचण्ड प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबण्डा बाँकी नै छ। बालकोटको बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यी सहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।
प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ । एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसक्नुभएकाे छ। यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन्।
annapurnapost