पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा १५ मा जारी वृहत खेलकुद महोत्सवको उद्घाटन गरेका छन् । बिहीबार वडावासीहरूको व्यापक सहभागिताका बिच मेयर आचार्यले वडा स्तरीय वृहत खेलकुद महोत्सवको उद्घाटन गर्नुभएकाे हाे ।
उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले अन्य कुरामा मानिसहरूका मतभेद रहेपनि, बिचार नमिलेपनि खेलकुदले सम्पूर्ण लाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताउनुभयाे। उहाँले आज सबै जना एउटै झन्डा मुनि उभिएको भन्दै यसले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयाे । मेयर आचार्यले सबै उमेर समूहका मानिसहरु बिच खेलकुदको कार्यक्रम राखेर नमुना कार्य गरेको र सुरुवातको दिनदेखि नै पोखराका ३३ वटै वडा मध्ये वडा नं १५ ले पृथक ढंगले कामहरू अगाडी बढाएको भन्दै वडाअध्यक्ष तोरण बहादुर बानियाँलाई धन्यवाद दिनुभयाे ।
खेलकुद महोत्सवले वडामा रहेका आमा समूह, टोल विकास संस्था र युवा क्लबहरू बिचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गर्नेमा अध्यक्ष बानियाँले आशा व्यक्त गर्नुभयाे । उहाँले वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताउनुभयाे । बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले खेलकुद कार्यक्रमको आयोजना गरिएको बताउनुभयाे ।
यस्तै, वडा सदस्य तथा कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयाे । उहाँले स्वास्थ्य सँगसँगै खेलकुद कार्यक्रमले खेलाडीहरू उत्पादन गर्ने र यहाँबाट उत्पादन भएका खेलाडीहरू महानगर, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगुन् भन्ने आफूहरूको लक्ष रहेको बताउनुभयाे ।
उद्घाटन समारोहमा खेलाडी, समाजसेवी, पूर्व जनप्रतिनिधि, प्राध्यापक लगायत वडाका १५ वटा आमा समुहको टोली ब्यानर सहित उपस्थित भएका थिए भने, छोटो सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।