काठमाडौं । नेकपा माओवादी केन्द्रले आर्थिक पारदर्शिता सुनिश्चित गर्न केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना समावेश गरिएको छ। प्रतिवेदनमा भनिएको छ, “केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ।”
साथै, पार्टी केन्द्रीय समितिका सदस्यहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा समावेश गरिएको छ।
यसैगरी, संघीय सांसद, प्रदेश सभा सदस्य, र उच्च तहको राजनीतिक नियुक्तिमा रहेका व्यक्तिहरूले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ। उनीहरूले जिम्मेवारी पाएको एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ र सेवा अवधिभर प्रत्येक वर्ष अद्यावधिक गर्नुपर्नेछ।