काठमाडौं I दैलेखको दुल्लु नगरपालिका–१३ मालिकामा बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ। ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
हत्या आरोपमा ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ। कर्णबहादुर गाउँका धामी थिए। प्रारम्भिक अनुसन्धान अनुसार, बुधवार राति भुवनसिंह कर्णबहादुरको घर गएका थिए।
पानी मागेर खाएपछि भुवनसिंहले अचानक आफूलाई बोक्सी लागेर बिरामी बनाएको आरोप लगाउँदै धारिलो हतियारले प्रहार गरेका थिए।
धारिलो हतियारको प्रहारबाट गम्भीर घाइते भएका कर्णबहादुरलाई उपचारका लागि दुल्लु अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।