काठमाडौं I फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने तनहुँ आँबुखैरेनी गाउँपालिका–५ का रुद्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनी हाल काठमाडौंको चन्द्रागिरिमा बस्दै आएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, गुरुङले नक्कली खाता प्रयोग गरी आफूलाई फ्रान्स–सिङ्गापुरको लाहुरे बताउने गरेका थिए। "सिङ्गापुर लैजाने" प्रलोभन देखाउँदै उनले युवतीहरूबाट कागजात बनाउने खर्च मागेर ठगी गर्दै आएको खुल्न आएको छ।
गुरुङले आफ्नो हुलिया र परिचय परिवर्तन गरी चितवन र काठमाडौंका विभिन्न स्थानमा भेटघाटको नाटक गरेर १६ लाख ८३ हजार ६ सय रुपैयाँ नगद र चेकमार्फत ठगी गरेका थिए। त्यस्तै, विभिन्न व्यक्तिका नाममा भएका २६ वटा ई–सेवा वालेट प्रयोग गरी थप १० लाख ९९ हजार ६ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, उनले कूल २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेका छन्। घटनाबारे थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा ठगीका घटनाहरू बढिरहेको भन्दै प्रहरीले यस्ता गतिविधिबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।