काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको दाबी गर्नुभएको छ । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।
काठमाडौंको भृकुटीमण्डपमा मङ्गलवारदेखि सुरु भएको सूचना प्रविधि मेला को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो । उहाँले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढङ्गले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेकोसमेत बताउनुभयो ।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर देशलाई अघि बढाउन महत्त्वाकाङ्क्षी योजनाहरू अघि सार्ने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने लगानी, गर्नुपर्ने सहयोग, गर्नुपर्ने कुराहरू के–के हुन्छन् भन्नेबारे पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ ।
यसका निम्ति यहाँहरूका आइडिया, सुझावहरू पनि मन्त्रालयले प्राप्त गर्न सकोस् ।सूचना प्रविधि मन्त्रालयको मन्त्रीको हैसियतले म के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने यस क्षेत्रको विकास, निर्माण र राष्ट्र अघि बढाउनका लागि सविस्तार अध्ययन गरेर अघि बढनेछौँ ।’
मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।