रामेछाप । माझी समुदायकाको जन्मदेखि मृत्युसम्मको परम्परागत संस्कार र संस्कृति सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
माझी जागरण केन्द्र मन्थली–८ रामेछापले शनिवार मन्थली नगरपालिकाको गाइखुरामा “माझी समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार र संस्कृति (सांस्कृतिक पहिचान) सम्बन्धी अभिमुखीकरण” कार्यक्रम आयोजना गरेको हो । माझी समुदायको परम्परा र संस्कृति लोप हुँदै गएकाले, संस्कार, संस्कृतिको संरक्षणका लागि माझी समुदायलाई प्रशिक्षित गर्ने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको माझी अगुवा बालकृष्ण माझीले बताउनुभयाे ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा माझी अगुवा श्रीबहादुर माझी, बालकृष्ण माझी, माझी परम्परा, संस्कार र संस्कृति सम्बन्धी विज्ञ समाजशास्त्री कृष्ण भट्टचनले प्रशिक्षण दिनुभएकाे थियाे । गाईखुराका स्थानीयवासी समेत रहेका बालकृष्ण माझीले माझीको परम्पराअनुसार माझी समुदायको न्यायिक सभाको रुपमा रहेको मझेसावाको बारेमा प्रष्ट्याउनुभएकाे थियाे । उहाँकाअनुसार माझी समुदायको प्रत्येक वस्तीमा मझेसावा गठन गरिन्छ र अहिले पनि मझेसावा रहिआएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा मझेसावा रामेछापका अध्यक्षसमेत रहेका श्रीबहादुर माझीले माझी जातिको जन्मदेखि मृत्युसम्मको संस्कार, संस्कृतिको बारेमा जानकारी दिनुभएकाे थियाे। त्यसैगरी माझीहरुले मान्ने चाडपर्व, परम्परा, माझी जातिले प्रयोग गर्ने औजार, भाँडाकुडा र खानाको परिकारका बारेमा जानकारी गराएका थिए । त्यसैगरी माझी समुदायको संस्कार र संस्कृतिसम्बन्धी विज्ञ डाक्टर कृष्ण भट्टचनले माझी समुदायको परम्परागत संस्कार संस्कृति थातथलो र भाषाका बारेमा चर्चा गर्नुभएकाे थियाे । माझी समुदायले आफ्नो भाषा, परम्परा, संस्कार संस्कृति छोड्दै गएको भन्दै माझीहरुले आफ्नो पहिचान कायम राख्नको लागि परम्परा, संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नु आवश्यक रहेका बताउनुभयाे । आधुनिकताको विकास सँगसंगै माझी समुदायले आफ्नो भाषा, संस्कार र संस्कृति विर्सिएर विदेशी संस्कृति अङ्गालेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयाे ।

उक्त अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले विकास, समाज सुधार, शैक्षिक जागरण र समुदायको अपनत्व लिने कुरामा अघि लाग्ने माझी समुदायलाई आग्रह गर्नुभयाे । विकासको लागि सरकारले ल्याएको नीतिको कार्यान्वयन हामीले गरेनौँ भने विकासको काम सही ढङ्गले अगाडी जाँदैन नगरप्रमुख श्रेष्ठले भन्नुभयाे । सरकारले नागरिकले खबरदारी गर्नु आवश्यक रहेको भन्दै सरकारले गर्ने गतिविधिहरुको निगरानी र खबरदारी गर्न पनि नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभयाे ।

कार्यक्रमको उदेश्य माथि प्रकाश पूर्व अध्यक्ष कर्ण बहादुर माझीले गर्नु भएको थियो भने कार्यक्रममा मझेसभा भटौलिका मझे वल बहादुर माझी, नेपाल माझी विद्यार्थी उत्थान संघ रामेछापका अध्यक्ष सुरेश माझी, नेपाल माझी महिला उत्थान संघ रामेछापका अध्यक्ष नानिमाया माझी, नेपाल माझी उत्थान संघ रामेछापका कार्यवाहक अध्यक्ष सिरि बहादुर माझीले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम चन्द्रबहादुर माझीले संचालन गर्नु भएको थियो ।