विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन्। विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा बिहान १०:१५ बजेतिर आगजनी गरिदिए। दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो। तर, आगोले जलेर गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चालक र आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडी रोकेर विद्यार्थीहरुले आगो लगाइदिएका हुन्।
खाना खाएर कार्यालयतिर आउँदै गर्दा गाडीमा विद्यार्थीले आगजनी गरिदिएको जानकारी डा. अधिकारीले दिनुभयाे। ‘हामी खाना खाएर आउँदै थियौं। क्याम्पसअगाडि आइपुगेपछि सरकारी गाडी आयो भनेर होहल्ला गर्दै विद्यार्थीहरुको एउटा समूह दौडिएर आयो। कसैका हातमा ढुंगा थिए। एक जनाले पेट्रोल बोकेका थिए,’ उहाँ भन्नुहुन्छ, ‘एक्कासि आएर विद्यार्थीले ढुंगामुडा गर्दै तोडफोड गर्न थाले। एक जनाले पेट्रोल छर्किएर गाडीमा आगो सल्काए। हामी हतारहतार गरेर बाहिर निस्कियौं। म एकतिरबाट र गुरुजी (चालक) अर्कोतिरबाट निस्किन सफल भयौं।’

डा. अधिकारीले आगो लगाएर आफूहरुलाई गाडीभित्रै जलाउन खोजिएको पनि बताए। ‘गाडीभित्र भएका हामीलाई कुनै सोधीखोजी गरिएन। विद्यार्थीको समूहले एक्कासि तोडफोड र आगजनी गर्न थाल्यो। तत्काल बाहिर निस्किन सकेकाले हामी बच्यौं,’ उहाँले भन्नुभयाे, ‘आगो लगाएर हामीलाई गाडीभित्रै जलाउन खोजेका थिए। तर, तत्काल बाहिर निस्किन सकेकाले उनीहरु सफल भएनन्। यो कस्तो अराजकता हो ?
उहाँले प्रदेश योजना आयोगको गाडीभन्दा पनि सरकारी गाडी भनेर विद्यार्थीले जलाएको बताउनुभयाे। तर, आफूहरु तत्काल बाहिर निस्किन सफल भएकाले ठूलो दुर्घटना हुन नपाएको डा. अधिकारीको भनाइ छ।
सडकमा पार्किङ गरेर राखिएका ५ गाडी तोडफोड
विद्यार्थीहरुले विराटनगर–१२ पञ्चालीस्थित कञ्चनजंघा पार्टी प्यालेसनजिक सडकमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरेर क्षति पुर्याएका छन्। पार्टी प्यालेसमा विद्युत प्राधिकरणको गोष्ठी थियो। कार्यक्रममा सहभागी हुन पुगेकाहरुले प्रयोग गरेको विद्युत प्राधिकरणका गाडी विद्यार्थीले तोडफोड गरिदिएको प्रहरीको भनाइ छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बी–एबी ८१८०, बागमती प्रदेश ०१–००१ ञ २७०१, बा १ ञ २४१९, बाग्मती प्रदेश ०१–००१ ञ २७९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ। ढुंगामुडा र तोडफोडबाट गाडीका सिसा फुटेको उनले बताए। अन्दाजी ९ जनाको समूह गाडी तोडफोड गरेर फरार भएको डीएसपी बस्नेतको भनाइ छ। घटनापछि विद्यार्थीको समूह क्याम्पसभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ।
क्याम्पस भित्रबाट प्रहरीमाथि ढुंगामुढा गर्दै
क्याम्पस भित्रबाट विद्यार्थीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरिरहेका छन्। स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी वेदप्रकाश जोशी र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्द श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीलाई लक्षित गरेर विद्यार्थीले क्याम्पस भित्रदेखि नै ढुंगामुढा गरिरहेका हुन्।
डीएसपी बस्नेतले सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेको खोजी भइरहेको बताउनुभयाे। ‘घटनामा संलग्नको पहिचान भइसकेको छैन। पहिचान गरेर कारबाहीको दायरामा ल्याउन अनुसन्धान सुरु गरिएको छ,’ उहाँले भन्नुभयाे, ‘घटनाका सम्बन्धमा थप प्रमाण जुटाउन सीसी क्यामेरा फुटेज हेर्ने र अध्ययन गर्ने काम भइरहेको छ। सरकारी सवारीसाधनमा आगजनी र तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याइने छ।’
मोरङको रंगेलीबाट बिहीबार पक्राउ परेका महेन्द्र मोरङ क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) र नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य दीपक यादवलगायतलाई छाड्नुपर्ने लगायतका माग राखेर विद्यार्थीले गाडीमा आगजनी एवं तोडफोड गरेको प्रहरीको भनाइ छ। निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेका विद्यार्थीहरुको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार तथा हातपात गरेको थियो।
सोही समूहको आक्रमणमा परेर नगरप्रहरीहरु सुनीता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएका थिए। आक्रमण एवं दुव्र्यवहारमा संलग्न यादवसहित ६ जनालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा २३ वर्षीय यादवसहित २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्।
तर, उनीहरुलाई बिनासर्त छाड्नुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेका हुन्। विद्यार्थीले शुक्रबार कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा केहीबेर यातायात अवरुद्ध पारेर प्रदर्शन गरेका थिए। विद्यार्थीको अवरोध र प्रदर्शनले सवारीसाधन आवागमन केहीबेर ठप्प भएको थियो।
क्याम्पसको स्ववियुका कार्यवाहक सभापति प्रशान्त यादवले आफूहरुको आन्दोलन जारी रहेको बताउनुभयाे। ‘पक्राउ परेकालाई तत्काल रिहाइ नगरे आन्दोलनलाई थप सशक्त बनाइने छ,’ उहाँले भन्नुभयाे, ‘आन्दोलनमै उत्रिएका विद्यार्थीले सरकारी गाडीमा आगजनी र तोडफोड गरेका हुन्।’ यादवले विद्यार्थीको हकहितका लागि आवाज उठाउँदा र शैक्षिक क्षेत्र सुधारको माग राख्दा पक्राउ गरेर थुन्नु जायज नभएको दाबी गर्नुभयाे।
annapurnapost