काठमाडौं l पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ । आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा माघीको चहलपहल शुरू भएको हो ।
विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि शुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व शुरू हुुने गर्दछ।
बिहानैदेखि थारू गाउँहरूमा बङ्गुरको मासुका परिकार बनाउन शुरू गरीन्छ। त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ।
माघीको दोस्रो दिन भोलि माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ ।
त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ । घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा छ । तेस्रो दिन अर्थात् माघ २ गते पर्सि चामल र मासको दालको खिचडी खाने गरिन्छ ।
थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको देख्न सकिन्छ।
थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन थालेको छ । यो पर्व थारू समुदायको नयाँ वर्ष भएकाले उनीहरूले वर्षभरिको गतिविधिको समीक्षा गर्छन् ।
माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबण्डालगायत कार्यको थालनी हुन्छ । माघीको अवसरमा सुदूरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । यस्तै लुम्बिनि प्रदेशको दाङको घोराही उपमहानगरपालिका लगायत थारू बाहुल्यता रहेका अरू विभिन्न पालिकाले आज बिदा दिएका छन् ।