मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र नेपालको लागि इजरायलका राजदुत हनन गोदर बीच आज शिष्टाचार भेटवार्ता भएको छ । बुधबार मधेशी आयोगको कार्यालयमा भएको उक्त भेटमा प्रविधिमैत्री कृषि, इजरायलमा रहेका नेपाली समुदायका विद्यार्थी तथा कामदारको अवस्था, नेपाली विद्यार्थी को लागि छात्रवृत्ति लगायतको विषयमा छलफल भएको थियो ।
सो अवसरमा अध्यक्ष डा.दत्तले प्रविधिमा इजरायलले निकै विकास गरेको कुरा प्रशंसनीय रहेको बताएका छन् । अध्यक्ष डा.दत्तले तराई-मधेशको किसानहरुलाई प्रविधिको माध्यम बाट कृषि सम्बन्धी तालिमको लागि आवश्यक कार्यक्रमहरु संचालन गर्ने आवश्यकता रहेकोले त्यस्ता कार्यक्रमहरुमा सहयोग गर्न राजदुत गोदरलाई आग्रह गर्नुभयो ।
अध्यक्ष डा.दत्तले मधेशी युवाको सशक्तीकरणको लागि दुवै संस्थाले सहकार्य गरी विभिन्न सीपमुलक कार्यक्रमहरु समेत संचालन गर्न समेत आग्रह गर्नुभएको अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ ।
इजरायली राजदुत गोदरले गत वर्ष ४०० भन्दा बढी किसानहरुलाई कृषि सम्बन्धी तालिम दिएको अध्यक्ष डा.लाई जानकारी गराएका छन् । राजदुत गोदरले आगामी दिनमा आयोग संग सहकार्य गरी विभिन्न सिपमुलक तालिमहरु संचालन आफु तयार रहेको समेत प्रतिबध्ता व्यक्त गरेका छन् ।