नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरिरहेकोले त्यसकाविरुद्ध एकजुट हुन एकीकृत समाजवादी आन्दोलनमा रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं विकृति र विसंगतिहरुसँग जुध्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको दिन नेपाली जनताका लोकप्रिय नेता जननेता मदन भण्डारी र पार्टीका अर्का वरिष्ठ नेता संगठन विभाग प्रमुख जीवराज आश्रित दुवै जनाको अत्यन्त रहस्यमय ढंगले हत्या भएको दिन हो । उहाँहरुको स्मृति दिवस आज । उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । उहाँहरुले देखाउनुभएको बाटोमा हामी अगाडि बढौं । युवा पुस्ता अघि बढौं । समाजवादको सपनालाई कम्युनिष्ट पार्टीबाहेक अरुले पूरा गर्न सक्दैन । कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएको हो । यस अर्थमा पनि यो आन्दोलनलाई हातेमालो गर्दै अगाडि बढाउँ । तपाईं हामी सधैं आन्दोलनका सहयोद्धाहरु हौं । कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं खालको विकृति विसंगतिहरुका बीचमा जुध्दै कम्युनिष्ट आन्दोलालाई नयाँ उचाइमा पुराउन क्रान्किारी सोचकासाथ मानिसहरुलाइ उभ्याउन हामी लागि परेका छौं । हाम्रो देशको विशेषतालाई राम्ररी बुझ्नु जरुरी छ । सफलतालाई उपभोग गर्न नजान्दा हामी कमजोर पनि भयौं । आफ्ना कमी कमजोरीलाई स्वीकार्दै आग्रह पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ । जनताको पीर मर्कासँग जोडिन सकियो भने असमानताका लागि लड्न सकियो भने बल्ल पार्टीको आन्दोलनको पनि उपादेयता हुन्छ । चाहे त्यो सामन्ती संस्कार होस्, कुरीति विरुद्ध जुध्दै आएका छौं । वर्तमानमा लोकतन्त्रमाथि खतरा चुनौति आएको छ । विगतमा उखेलेर फालिसकेको प्रतिगामी तत्वले पुनः टाउको उठाउने प्रयास गरिरहेको छ । त्यसैले त्यसलाई निस्तेज पार्नका लागि हाम्रो पार्टी आन्दोलनमा छ ।’
अध्यक्ष नेपालले मुलुकको परिस्थितिको आधारमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने विषयमा छलफल आवश्यक रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल