बैतडी । बैतडीका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण अहिले प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो ।
पाटनका किसानले पालेका पशुचौपायामा यो रोगको लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ । गएको मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा परेका थिए ।
सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग अहिले शिवनाथ र सुर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ । दैनिक १५ देखि २० वटा पशुमा लम्पी स्कीन रोगका लक्षण देखिएको जानकारीमा आउने गरेको छ ।
सङ्क्रमणबाट पशुचौपाया मर्ने गरेका छन् । सङ्क्रमण बढेको भए पनि अहिलेसम्म पशु मरेको तथ्याङ्क नआएको केन्द्रले जनाएको छ । शिवनाथ गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदका अनुसार पशुको प्राथमिक उपचार सुरु गरिएको छ ।
पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि किसान चिन्तित भएका छ्न् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा आग्रह गरिएको छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काढ्ने, गर्भीणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्ने गर्छ ।