काठमाडौं । जनकपुर रोयल्सलाई पहिलो क्वालिफायरमा ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको फाइनलमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ४३ रनको योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको जनकपरले सात विकेट गुमाएर एक सय ३७ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रनको योगदान गरे। यस्तै, पवन सर्राफ ३० रनमा अविजित रहँदा ओपनर शारफुद्दिन असरफ २४ रन जोडेर आउट भएका थिए।
लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरी, विपलु शर्मा र सागर ढकालले जनही दुई विकेट लिए। शाड्ली भान स्कलक्यकले पनि एक विकेट लिएका थिए।
पहिलो इनिङमा इशान पाण्डेले लुम्बिनीका लागि सर्वाधिक ३८ रन जोडेका थिए। अनिल साहले २४ तथा विपुल शर्माले २० रनको योगदान गरेका थिए।
जकपुरका लागि अशान प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले जनही दुई विकेट लिएका थिए। त्यसबाहेक ट्रेभोन ग्रिफिथ र पवन सर्राफले एक–एक ब्याटरलाई पेभेलियन फर्काएका थिए।
समूह चरणबाट शीर्ष स्थानमा रहँदै लुम्बिनी प्ले अफमा आइपुगेको हो। जनकपुरले पनि दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। जनकपुरले भोलि हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको इलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने छ।