काठमाडौं। तमू बौद्ध सेवा समितिको सभाहलमा आज २०८१ सालको अन्तिम दिनको अवसरमा एक विशेष साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ। साँझ ४:३० बजे सुरु हुने कार्यक्रममा गीत, गजल तथा शीतल शृंखलाका विशेष प्रस्तुति रहने आयोजकले जनाएका छन्।
कार्यक्रममा नेपाली भाषा अमेरिकाको कक्षा १२ सम्मको पाठ्यक्रममा समावेश गराउन महत्वपूर्ण भूमिका खेलेका कवि तथा गीतकार मोहन गुरुङको प्रमुख उपस्थित रहनेछ। साथै, बुलन्द आवाजका धनी सागर आले र कोकिल कण्ठकी ममता गुरुङको समेत विशेष प्रस्तुति रहनेछ।
यसैगरी, "कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ , समयले जवानी लुटेपछि आयौ " जस्ता चर्चित गजलहरूबाट चिनिएकी प्रख्यात गजलकार शीतल कादम्बिनीकाबाट समेत शृंखलाबद्ध प्रस्तुति हुनेछ।
साहित्य प्रेमीहरूका लागि विशेष आकर्षण हुने उक्त कार्यक्रममा सर्जकहरूको सिर्जनशीलता र अभिव्यक्तिको जादूको अनुभव लिन सकिने आयोजकले उल्लेख गरेका छन्।