विराटनगर । कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीको टोलीले उनको घरबाटै पक्राउ गरेको छ ।
मन्त्रालयकै नक्कली कागजात र परिचयपत्र बनाइदिएर खोटाङका दुई रसुवाका एकजना युवकलाई जापान लगेको खुलासा भएपछि अधिकारी विवादमा तानिएका थिए ।
अधिकारीलाई पक्राउ गर्न प्रहरीको एउटा टोली विराटनगरस्थित उनको निवासमै पुगेको हो । अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौं पठाइएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताएका छन् ।
अधिकारीलाई विराटनगरबाट हवाईजहाजमार्फत पठाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइँदैछ । उनलाई प्रहरीले जरुरी पक्राउ जारी गरेर समात्न निवासमा पुगेको थियो ।
अधिकारीको निवासमा मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया नेतृत्वको टोली पुगेको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालय काठमाडौंका प्रहरी पनि थिए ।
अधिकारीले मानव तस्कर गिरोहसँग मिलेर १० देखि १५ लाख रुपैयाँमा तीन युवालाई जापान लिएर गएका थिए । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीमाथि अनुसन्धान नथालिएको भन्दै आलोचना भइरहेका बेला प्रहरीले उनलाई घरमै पसेर पक्राउ गरेको हो ।
अधिकारीलाई विराटनगरबाट जहाजमार्फत काठमाडौँ लगिँदैछ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो।
अधिकारीलाई सार्वजनिक पदको दुरूपयोग गर्दै गैरकानुनी रुपमा युवाहरूलाई जापान लानन खोजेको आरोप लागेको छ ।