नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताउनुभएको छ ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताउनु भयो । उहाँले लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने बताउनु भयो । उहाँले दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउनु भयो । नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति नै आफू भएपनि दुई ठूला दलको सरकार हुँदा निरंकुशताको डर हुने बताउनु भयो । उहाँले गलतलाई गलत भन्ने आँट नभए नेपाली काँग्रेसको औचित्य सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली काँग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसदबाटै नियम, कानून, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसदलाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाई बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन । के को छल्ने । अपर हाउसमा नपुगेको हो नि त अहिले छ । अपर हाउसका सांसदहरुसँग कुरा गरेर मिलाइसक्नु हुन्थ्यो । त्यो क्षमता भएको व्यक्ति गिरिजाप्रसाद कोईराला हुनुहुन्थ्यो । अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानबिन्दु हो । हुनतः नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति मै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो ।’
नेता कोईरालाले अध्यादेश सरकार चल्नै नसक्ने अवस्था भए मात्रै ल्याउनुपर्ने बताउनु भयो । भूमि सम्बन्धी अध्यादेश जस्ताको त्यस्तै पास भए केही गर्न नसकिने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल