पोखरा । पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायीका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम बिहिबार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता तथा गायीका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहिन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गर्नुभएकाे हाे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका तेज बहादुर गुरुङले फाउण्डेशनको सामाजिक काममा आफुपनि सहभागी हुन पाएको बताउँदै सहयोगीहरुलाई आभार प्रकट गर्नुभयाे । उहाँले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि
सकरात्मक कामको अनुशरण गुर्नपर्ने धारणा राख्नुभयाे ।
त्यस्तै देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा रकम संकलन गरेर पहिलो पटक दृष्टिविहिन नागरिकहरुलाई आर्थिक सहयोग गरेको बताउनुभयाे । ‘फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, गुरुङले भन्नुभयाे, पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिक गुजारा गर्ने दृष्टिविहिन नागरिकहरुलाई विभिन्न व्यक्तित्वको आर्थिक सहयोगमा उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी छौं । र सम्पूर्ण सहयोगीदाताहरुप्रति आभारी छु ।’

उहाँले फाउण्डेशनको सहयोग यथेष्ट नहुने तर्क राख्नुभयाे । ‘हाम्रो यो सहयोग तपाइहरुलाई यथेष्ट हुदैन तरपनि घाउमा सानो मलम लगाउ भन्ने हेतुले सहयोग गरेका हौं, उहाँले भन्नुभयाे, ‘सडकमा तपाइहरुले गीत गाउनु कुनै भिक माग्नु होइन । आफ्नो प्रतिभा देखाउनु हो । त्यसैले प्रतिभाको कदर गर्दै सक्दो सहयोग गर्नु हरेक नागरिकको दायित्व हो ।’
उहाँले आगामी दिनमा दृष्टिविहिनहरुकै लागि वृहत कार्यक्रम नै आयोजना गर्ने प्रतिवद्धता जनाउनुभएकाे थियाे । यस्तै अर्का अभियन्ता तथा लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारा गर्नु आफैमा उदाहरणीय कार्य भएको बताउनुभयाे।

‘तपाईहरुले सडकमा माग्न बसेको होइन, उहाँले भन्नुभयाे, तपाइहरुले कला प्रदर्शन गर्नुभएको हो । यस्तो अवस्थामा हामी तपाइहरुलाई केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं ।’ उहाँले आगामी दिनमासमेत दृष्टिविहिनहरुको साथमै रहने प्रतिबद्धता जनाउनुभयाे । ‘यो कार्यक्रम एउटा उदाहरण मात्र हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई
निरन्तरता दिनेछौं । फरक क्षमता भएका तपाइहरुलाई रहर हैन कहर हो त्यसैले तपाइहरुलाई सधै सम्मान गरिनुपर्छ ।’ उहाँले भन्नुभयाे ।
गीत गाएर गुजारा चलाउँदै आएका दृष्टिविहिनसँगै आफुले गाएको एउटा भिडियो टिकटकमा भाइरल भएको स्मरण गर्दै भन्नुभयाे, ‘एउटा दृष्टिविहिन दाईसँग गाएको गीत टिकटमा धेरैले माया गर्नुभएको थियो । त्यहाँ आएको कमेन्टमा धेरै आर्शिवाद थिए । त्यसैले आर्शिवार्द उधारो राख्न हुदैन भन्ने सोचेर सहयोग अभियानमा जुटेकी हुँ ।’
उहाँले आगामी दिनमा दृष्टिविहिन नागरिहरुलाई गीत रेकर्डिङ गर्न इच्छा लागेको खण्डमा आफुले सहयोग गर्ने बताउदै दृष्टिविहिनलाई सबैले सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गर्नुभएकाे थियाे । यस्तै दृष्टिविहिन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य रं संघसंस्थाबाट उचित सहयोग नपाएको गुनासो गर्नुभयाे । ‘विभिन्न संघ संस्था तथा राज्यबाट विभिन्न क्षेत्रका नागरिकलाई सहयोग गरेको सुन्न सक्छौं तर हामी दृष्टिविहिन नागरिकलाई कसैले पनि वास्ता गर्दैनन्, परियारले भन्नुभयाे, ‘आज हामीलाई प्रीति बहिनी र अमृत भाइले सहयोग गर्नुभएको छ । उहाँहरुप्रति हामी अत्यन्तै आभारी छौं ।’
आफुहरुको सडकमा गीत गाउनु रहर नभई बाध्यता रहेको उहाँले सुनाउनुभयाे । ‘सडकमा गाउनु हाम्रो रहर होइन, यो हाम्रो बाध्यता हो । त्यसैले कृपया हामीलाई अपहेलना नगर्नुहोला ।’ उहाँले भन्नुभयाे । आर्थिक सहयोग कार्यक्रममा गायक मिलन लामा, सन्तोष बस्याल, लोक तथा दोहोरी गायक नेत्र गुरुङ, अमर धिताल लगायतको उपस्थिती रहेको थियो ।