ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा पुस्तक पढ्नेहरुको कमी हुँदै गएको बताउनुभएको छ ।
दक्षिण एशियाली पुस्तक प्रदर्शन,२०२३ मा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख महर्जनले यस्तो बताउनुभएको हो । पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको बताउनु भयो । उहाँले ललितपुर महानगरले पुस्तकालयहरुलाई प्राथमिकतामा राख्ने गरेको बताउनु भयो । उहाँले पुराना पुस्ताकालयहरुलाई पुनः स्थापनाको लागि महानगरले पूर्वाधार निर्माण गरी पुस्तकहरु थप्ने योजनामा रहेको बताउनु भयो । उहाँले पछिल्लो समय विगतको जस्तो पुस्तकको नाम नै तोकेर पुस्तक पढ्ने भन्ने प्रचलन हट्दै गएको बताउनु भयो । उहाँले डिजिटल प्रविधिको कारण आवश्यक पुस्तक हातमा नै अध्ययन गर्न सकिने अवस्था आएकाले पुस्ताकालयमा गएर पुस्तक अध्ययन गर्नेहरुमा कमी आएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अध्ययनको लागि आवश्यक पुस्तकहरु पाउने भएकाले पछिल्लो समय पुस्तकालयमा अथवा पुस्तक पढ्ने मानिसहरु क्रमश कम हुँदै गएको महशुस भएको छ । उदाहरण भन्नुपर्दा केही समय पहिला गोरखापत्र र कान्तिपुर पढ्न नपाउँदा निन्द्रा नलाग्ने मानिसहरु धेरै थिए । अहिले त्यो समय परिवर्तन भएको छ । पत्रिकाहरु पढ्न नपाएको भन्ने मानिसहरु कमै छन् । पत्रपत्रिकाको जस्तै पुस्तकमा पनि असर परेको छ । अमेरिकन पुस्तकालयहरुमा धेरै जाने गरेका थियौं । बाहिर पुस्तक किन्न पहुँच थिएन । तर अहिले इन्टरनेटको कारण कुनै पुस्तक पढ्न मन लाग्दा तत्काल हातमा भेटिन्छ । पुस्तक अध्ययन गर्ने परम्परा पनि प्रविधिमैत्री भइरहेको अवस्थामा पुस्तकको नाम तोकेर नै अध्ययन गर्ने भनेर आउनेहरु कम छन् । तर ललितपुर महानगरपालिकाले नगरपालिका भित्र रहेका पुस्ताकालयहरुलाई पुनः जागरण ल्याउने काम गरिरहेका छौं । पुस्ताकालय बनाउने विषयमा महानगरको प्राथमिकतामा छ ।’उहाँले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेकाले आफू दोस्रो पटक पनि निर्वाचित भएर आएको दाबी गर्नुभयो ।