काठमाडौं । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षकको दरबन्दी रिक्त रहेको बताउनुभएको हो ।
कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । अहिले विद्यालयका आधारमा १७ हजार तीन सय ८४ शिक्षक हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् ।
यस्तै एक हजार एक सय ४० निम्न माध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग रहेका अधिकृत सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानूनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चार जना हुनुपर्छ ।
शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, पालिका, प्रदेश र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उहाँले बताउनुभयो ।