प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताउनुभएको छ ।
मंगलवार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको बताउनु भयो । उहाँले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताउनु भयो । उहाँले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताउनु भयो । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ । राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मुलधारमा, संवैधानिक राजनीतिको मुलधारमा, लोकतान्त्रिक प्रणालीको मुल धारमा अगाडि बढेको छ । यसअर्थ हामी यिनै दृष्टिकोणअनुसार सफलतापूर्वक अगाडि बढेका छाैँ । अनौठा घटनाहरु राष्ट्रिय राजनीतिमा कहिले कहिले आइपर्दछन् । तर हामी के कुरामा स्पष्ट हुँदा हुन्छ भने कसैले श्रीलंकाका, कसैले बंगलादेशका कुरा गर्दछन् । सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन । नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ । संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रणाली स्वीकार छ । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटाबाट परिवर्तनको अपेक्षा सम्भव छैन ।’
प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको बताउनु भयो । ०८४ को मंसिरमा सरकार परिवर्तन हुने बताउनु भयो । निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताउनु भया ।
—न्युज एजेन्सी नेपाल